बिर्तामोड।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले तिनै तहका सरकारमा रहेका बेला कांग्रेसले जनपक्षीय काम गरेर जनताको मन जित्दै आउँदो निर्वाचनमा पार्टीका उम्मेद्वारले जित्ने आधार तयार गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस झापाको जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका प्रखर बक्ता पौडेलले जनताले पार्टीका नेता कार्यकर्तालाई सच्चिन आग्रह गर्दै नयाँ पार्टीहरुलाई जनमत दिएको बताउँदै स्थानीय, प्रदेश र संघीय समस्याहरुको पहिचान गरी समयानुकुल समाधानको बाटो खोजेर विचार र सिद्धान्त प्रतिपादन गर्दै जनमुखी काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्कन्छन्’–नेता पौडेलले भन्नुभयो–‘निराश हुने अवस्था आएको छैन, तिनै तहका सरकारमा कांग्रेस छ, यिनको नेतृत्व गर्नेले समस्याहरुको पहिचान गरी समाधानका लागि जनपक्षीय काम गर्र्नुपर्छ । यो निर्वाचन परिणामको सन्देश हो ।’

विचार र आस्था मारेर सत्तामा बसिरहनु नहुने टिप्पणी गर्दै नेता पौडेलले केही नेताहरुको सत्तामा टाँसिइरहने गलत प्रवृत्तिका कारण निर्वाचनमा गठबन्धन भएको बताए । लोकप्रिय कार्यक्रम ल्याएर आगामी निर्वाचनमा दुई तिहाई जनमत ल्याउने गरी कांग्रेसले काम गर्नुपर्नेमा जोड दिदै नेता पौडेलले सत्ता प्राप्तिमात्रै राजनीतिको उद्देश्य नभएको स्पष्ट पारे ।

पार्टीको संगठन सुद्धिकरण एवं सुदृढीकरणका लागि प्रधानमन्त्री, पार्टी सभापति,  जनप्रतिनिधि एवं मन्त्रीमा निश्चित समयावधी तोकेर नेतृत्व हस्तान्तरणको सिद्धान्त अपनाउनु पर्नेमा उनले जोड दिए ।

भ्रष्टाचार विरुद्ध चट्टानी अडान लिनुपर्ने दोहो¥याउँदै नेता पौडेलले दुइ चार जनाको गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न दिनु नहुने धारणा राखे । भुटानी शरणार्थी सम्बन्धी विषयमा जो–सुकै दोषी देखिए पनि कारबाही गर्नु पर्नेमा उनको जोड थियो ।

कांग्रेसले सरकारमा रहँदा थुप्रै जनपक्षीय एवं विकासका कामहरु गरेपनि त्यसको खासै चर्चा नभएको बताउँदै उनले अब सबै तहमा डिजिटल समिति गठन गरी पार्टीले गरेका कामको प्रचार–प्रसारमा तिब्रता दिन आग्रह गरे ।

कार्यकर्ता भेटघाट कार्यक्रममा सहजीकरण पार्टी सचिव कृष्ण हुमागाईले गरेका थिए भने विरबहादुर चौहान, देवीप्रसाद खरेल, हेमराज खरेल, गोविन्द पौडेल, ओमकृष्ण विमली, धर्म लक्सम्बा, अशोक पाठक, विरु दर्नाल, सञ्जय निरौला, भुमादेवी घिमिरे, बासु अधिकारी लगायतले समसामयिक राजनीति एवं पार्टीको आन्तरिक विषयमा जिज्ञाशाहरु राखेका थिए ।