विर्तामोड ।

 नेपाली कांग्रेसका अग्रज नेताहरुले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पार्टीको मूल धारमा फर्किएर अभिभावकत्व प्रदान गर्न आह्वान गरेका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–२, प्रदेशसभा क र ख को विर्तामोडमा आयोजित संयुक्त पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश सभापति उद्वव थापा लगायतका नेताहरुले यस्तो आह्वान गरेका हुन् ।

जेन जी विद्रोह र त्यसपछि सिर्जित राजनीतिक परिवेशका आधारमा पार्टी संगठनहरु स्वभाविक रुपमा युवाको नेतृत्व जानथालेको चर्चा गर्दै उनीहरुले अब पुरानो पुस्ताबाट मात्रै पार्टी सञ्चालन हुन नसक्ने जनमत देखिएकाले पार्टीको मूलधारमा फर्किन आग्रह गरेका हुन् ।

माओवादीलाई शान्ति वार्तामा ल्याउन र पार्टी संगठन निर्माणमा सिटौलाको योगदान महत्वपूर्ण रहेको बताउँदै संविधान सभाका सदस्य समेत रहनुभएका नेता शिवाकोटीले भने –‘५२ बर्षसम्म उहाँसँगै काम गरियो, एउटै असहमति भएन, जब विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो पुरानाले पार्टी हाक्न सक्ने र जनमत थेग्ने अवस्था देखिएन । त्यसैले म विशेषको पक्षमा उभिएँ । समयको पदचापलाई चिनेर सानेपा कांग्रेसमा फर्कनुस्, हामी स्वागत गर्न तयार छौं ।’ प्रजातन्त्र ल्याउन अग्रजहरुले गरेको त्याग, संघर्ष र योगदान स्मरणीय रहेको बताउँदै उनले सिके प्रसाईसहितका झापाली नेताहरुले निर्वासित जीवन विताउँदाको क्षण स्मरण गरे ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले आफूलाई अग्रजहरुले रुख, चारतारे झण्डा र सानेपा कांग्रेसमा ल्याएको चर्चा गर्दै  भने –‘म यही छु, ज–जसले छोड्नुभएको छ, यतै फर्कनुस र हामीलाई अभिभावकत्व प्रदान गर्नुस् ।’

एउटै झण्डा, एउटै चुनाव चिन्ह र एउटै नाममा दुईवटा पार्टीको अभिलेख नरहने उल्लेख गर्दै सभापति थापाले सर्वोच्च अदालतले दिएको निर्देशनकै आधारमा १५ औं महाधिवेशन भएको उल्लेख गरे । गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन सकेर निर्वाचन आयोगमा अभिलेख अध्यावधिक गराइसकेको स्पष्ट पार्दै उनले अब हुने महाधिवेशनको अभिलेख आयोगमा अध्यावधिक नहुने धारणा राखे ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले संगठन चलायमान बनाउन टोल र वडाकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिन सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टीभित्र अवसर र चुनौति दुवै रहेको चर्चा गर्दै उहाँले सबै एकजुट हुनुको विकल्प नरहेको धारणा राखे ।

नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले पार्टी संगठनका गतिविधिलाई सामाजिक सेवासँग जोड्नुपर्नेमा जोड दिदै कसैसँग वैमनस्यता नराखी टुटेका मनलाई पनि जोड्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस झापाका पूर्व प्रवक्ता लोकराज ढकालले राजनीति पेशा नभई सेवा भएको चर्चा गर्दै राजनीति र समाजलाई जोड्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस मोरङका नेता एवं पूर्व प्रदेश मन्त्री मानबहादुर लिम्बु, नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, महाधिवेशन प्रतिनिधिहरु छत्रबहादुर गिरी, दीपक तामाङ, भोजराज सिटौला, विर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा गत असोज १० र ११ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी÷सदस्यलाई पद हस्तान्तरण गराइएको थियो । क्षेत्रीय सभापतिको रुपमा अन्तिम मन्तब्य राख्दै क्षेत्रीय सभापति खगेन्द्र मैनालीले पार्टी संगठनमा १० बर्ष क्षेत्रीय सभापतिको कार्यकाल सम्हाल्दा सहयोग गर्ने सवैप्रति धन्यवाद ज्ञापन गरे ।

१० बर्षे कार्यकालमा सँधै सवै निर्णयहरु सर्वसम्मत भएकोमा खुशी ब्यक्त गर्दै यसमा भुमिका खेल्ने अग्रज, अनुज एवं कार्यसमितिप्रति कृतज्ञता ब्यक्त गरे । उनले क्षेत्रीय समितिको खाता एवं माइन्युट नवनिर्वाचित सभापति हेमराज खरेललाई हस्तान्तरण गरे । यस्तै झापा क्षेत्र नं–२, प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्यले पार्टीका गतिविधि सञ्चालनका लागि स्थापना गरिएको कोषको एकलाख ५० हजार रकमसहित नवनिर्वाचित सभापति मनोज बुढाथोकीलाई माइन्युट हस्तान्तरण गरे।

झापा क्षेत्र नं–२ प्रदेशसभा ख का सभापति किरण श्रेष्ठले पार्टी संगठनका खाता एवं माइन्युट नवनिर्वाचित सभापति जीवन भण्डारीलाई हस्तान्तरण गरेका थिए ।  कार्यक्रमको सञ्चालन चन्द्र चुडाल र गोकुल पौडेलले संयुक्त रुपमा गरेका थिए ।