बिर्तामोड । 

साहित्य चौतारीले झापाका विभिन्न १५ विद्यालयमा लागू गरेको ‘साहित्य चौतारी अभियान’ मार्फत चारवटा बिधामा विद्याथीहरुका प्रतिभाबीच पहिलो चरणको प्रतिस्पर्धा भएको छ । 

बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा शनिवार भएको कार्यक्रममा साहित्य, संगीत र कला विधाका उत्कृष्ट प्रतिभाबीच अन्तर विद्यालयस्तरीय प्रतिस्पर्धा भएको हो । ती विधामा विद्यालयबाट छानिएका ४५ जना प्रतियोगीले विधागतरुपमा प्रतिस्पर्धा गरेका थिए । 

पहिलो चरणको प्रतिस्पर्धाबाट १५ जना विद्यार्थी प्रतिभा छनोट भएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । साहित्यबाट चार, संगीतबाट चार, नृत्यबाट चार र कलाबाट तीनजना प्रतिभा छानिएका हुन् । 

छानिएका यी प्रतिभाबीच साहित्य चौतारीको २४ औँ वार्षिकोत्सव एवम् रजत वर्ष प्रवेशको अवसरमा असार ३१ गते दोस्रो चरणको प्रतिस्पर्धा गराइनेछ । उक्त प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने संस्थापक संरक्षक श्रेष्ठले जानकारी दिए । 

साहित्य चौतारीले दार्जीलिङ निवासी साहित्य संगीत र कला विधाका शिखर व्यक्तित्व जीवन अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको हो । साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्य विधाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत मन्तव्य राखेका छन् । 

कार्यक्रममा गायक तथा संगीतकार डा. सुमन, चौतारीका सल्लाहकार अनिरुद्र ओली, राजेन्द्र सङ्ग्रौला लगायतको उपस्थिति रहेको थियो । शुभद्रा दाहालको आसामे नृत्यबाट सुरु भएको कार्यक्रम सहसचिव देवीचरण भण्डारीले सञ्चालन गरेका थिए । 

पहिलो चरणको प्रतिस्पर्धाबाट चित्रकलातर्फ तीन जना छानिएका छन् । कृतिका मैनाली दुर्गा मावि गरामनी, सोनिया विक झिलझिले मावि सतासीधाम र सागर तामाङ जनता मावि गौरादह छानिएका हुन् । 

गायनतर्फ दीपा काफ्ले कनकाई मावि, सञ्जीव रसाइली शनिश्चरे मावि, उमेश गौतम दुर्गा मावि र अमिता चेपाङ गौरादह मावि छनोट भएका छन् ।

नृत्यतर्फ जनता मावि गौरादह, मनिषा लामा दुर्गा मावि, रेखा कार्की भद्रपुर मावि र विष्णु गहतराज शान्ति आदर्श मावि बुधवारे छनोट भएका छन् । 

कवितातर्फ गरिमा न्यौपाने हिमालय मावि दमक, दिलसा विक महेन्द्र मावि, शिवानी पोखरेल फूलवारी मावि चकचकी र लीला खत्री जनता मावि गौरादह उत्कृष्ट भएका छन् ।  

कवितातर्फ साहित्यकारहरु अभागी थेगुवा र दिलीप घिमिरे, कला विधामा युवराज रिजाल, गायन र संगीततर्फ प्राज्ञ हरिप्रसाद पौडेल र कमला नेम्वाङ तथा नृत्यतर्फ पदम तामाङ र अमन गुप्ताले निर्णायकको भूमिमा थिए । कार्यक्रममा सहभागी विद्यालयका शिक्षक र विद्यार्थीसहित अतिथिहरुलाई ग्रेटर नेपाल अंकित फ्रेम मायाको चिनोस्वरुप वितरण गरिएको थियो ।