विराटनगर । 

देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोशी प्रदेश सरकारले चार बर्षअघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो । 

मनमोहनले पाँच बर्ष भित्र कुन कुन बिषयको के कसरी पठनपाठन गराउने, भौतिक पुर्वाधार अनि दक्ष जनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार रणनीति निर्माणमा विज्ञहरु हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले  सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईले जानकारी गराएका थिए । 

छलफलमा पुर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराई, प्राध्यापक कृष्ण पोखरेल, मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल, उद्योगी सोमनाथ अधिकारी, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष मुकेश उपाध्याय लगायतले आवश्यक सुझावहरु दिएका थिए । 

पाँच बर्षे रणनीति छलफलमा बोल्दै   उपकुलपति डा सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले छोटो समयमै आफनै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफनै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्त्तिहरु विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहन सफल हुदै जाने विश्वास व्यक्त्त गरे । 

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत, मध्यस्तर र उच्चस्तरको प्राविधिक जनशक्त्ति उत्पादन गर्नेगरि पठनपाठन शुरु भैरहेको छ । मनमोहनमा हाल ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिोनिक्स अनि पारामेडिकलतर्फ विफार्मेसी स्नातकतर्फको पठनपाठन भैरहेको छ । चालु शैक्षिक सत्रदेखी प्राकृतिक चिकित्सातर्फके स्नातक तहको कक्षा पनि शुरु गर्ने तयारी भैरहेको छ ।