झापा । 

वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरको तालिम दिने संस्थाहरुले विभागको अनुमति लिनुपर्ने बताएको छ । विभागले अनुमतिका लागि आवेदन दिन बुधबार १५ दिने सूचना जारी गरेको हो । 

केयर गिभर स्याहारसुसारकर्ता तालिमसम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक संस्थाका लागि सूचना जारी गरेको जनाएको छ ।

 विभागले अन्य तालिम प्रदान गरिरहेका तालिम प्रदायक संस्थाले केयर गिभरको तालिम पनि सञ्चालन गर्ने भएमा त्यस्तो संस्थाले नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाएर निवेदन दिनुपर्ने जनाएको हो ।

 इच्छुक संस्थाले निवेदनका साथमा संस्थाको न्यूनतम भौतिक पूर्वाधारको विवरण, संस्थापक र सञ्चालकको अनुभव तथा योग्यताको प्रमाणपत्रको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने उल्लेख गरेको छ । विगतमा इजरायलका लागि केयर गिभरको तालिम प्रदान गर्न अनुमति लिइ तालिम प्रदान गरिसकेको भए त्यसको प्रमाणसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 त्यस्तै विभागले निवेदनका साथमा तालिम प्रदायक संस्थाको दर्ता, नवीकरण प्रमाणपत्र, प्रवन्धपत्र र नियमावलीको प्रतिलिपि, भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, गत वर्षको करचुक्ता, संस्थाको आफ्नो घर नभएको भए कम्तीमा दुई वर्षको घरबहाल सम्झौतासमेत पेश गर्नुपर्ने  उल्लेख गरेको छ ।