झापा । 

वैदेशिक रोजगारमा रहेका कामदारहरुलाई केही राहदानी छिट्टै प्राप्त हुन थालेपछि सहज भएको छ । राहदानी विभागले तोकेको समयभन्दा अगाडि नै राहदानी पठाउन थालेपछि सहज भएको हो । 

मलेसियास्थित नेपाली दूतावासमार्फत यसअघि नेपालबाट राहदानी बनेर मलेसिया पुग्न ४५ दिनभन्दा बढी समय लाग्ने गरेको थियो । तर, अहिले तीन हप्तादेखि  बढीमा २५ दिनभित्रै पुग्ने गरेको बताइएको छ ।

यसअघि राहदानीको समस्या लिएर दैनिक ४ सय नेपाली दूतावास आउने गरेका कारण सेवा सञ्चालनमा समस्या उत्पन्न भएको दूतावासले बताएको थियो । दूतावासले पहिले नै अनुमति अर्थात एपोइन्टमेट लिएकाहरुलाई मात्रै सेवा दिने गरेको छ । तर राहदानीका लागि दूतावासको सेवा प्रवाह प्रणालीबारेमा पर्याप्त जानकारी नपाउँदा कामदारहरु आफूलाई फुर्सद भएको समयमा दूतावास जाने र सेवा नपाइ गुनासो मात्रै लिएर फर्किनु पर्ने अवस्था रहेको थियो ।

विदेशस्थित नेपाली दूतावासहरुले राहदानीको अवधि १८ महिना वा सोभन्दा कम अवधि भएमात्र नवीकरण गर्ने गरेका छन् । मलेसियामा अवधि सकिएको राहदानी बनाउँदा २ सय ४० रिंगिट र हराएको वा कोरिएर पुनः बनाउनुपर्ने भएमा त्यसको डब्बल दस्तुर लाग्ने गरेको छ ।