झापा । 

दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनैपनि सम्झौता नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कात्तिक २२ गतेसम्ममा १२ हजार नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख भएको नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि मन्त्रालयले सामाजिक सञ्जालको सूचना नक्कली भएकाले विश्वास नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस) बाट मात्रै नेपाली कामदार जान सक्ने विज्ञप्ति जारी गर्दै जनाएको छ । मन्त्रालयले आधिकारिता यकिन गरेर मात्र वैदेशिक रोजगारीको प्रक्रिया शुरु गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगार विभागले पनि जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि नक्कली सूचनाको आधारमा आवेदन आह्वान भएको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा जारी भ्रमपूर्ण सूचना तथा विज्ञापनको भर नपर्न नगर्न आग्रह गरेका छन् ।