झापा । 

बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संगठन रिटर्नी सेन्टर नेपाल बिस्तारलाई १ नम्बर प्रदेशमा तीब्र बनाइएको छ । सेन्टरले गत भदौ २७ गते मोरङको बिराटचोकमा १ नम्बर प्रदेश स्तरीय भेला आयोजना गरेर बिशाल भण्डारीको संयोजकत्वमा कोशी प्रदेशका १४ वटै जिल्लालाई समेटेर १ नं प्रदेश कमिटी गठन गरेको हो ।

भेलाले गणेश सौगात कालिकोट, दिपेन लिम्बू र इन्द्र नारथुङ्गेलाई सह–संयोजकको जिम्मेवारी तोकेको छ भने सचिवमा नवीन गुरुङ र कोषाध्यक्षमा रमिला राईलाई जिम्मेवारी दिएको छ । 

भेलाले ३१ सदस्यसहित ३७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।  १४ जिल्लाबाटै प्रतिनिधित्व हुने गरि प्रदेश कमिटी बनाइएको हो । भेला नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिब तथा १ नं प्रदेशका पार्टी इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’को प्रमुख आतिथ्य रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिब चक्रपाणी खनाल ‘बलदेव’ ले रिटर्नी सेन्टर नेपाललाई ठुलो भरोसा गरेको बताएका छन् । उनले संगठन निर्माणमा पार्टीको कान्छो संगठन भए पनि अनुभवमा रिटर्नी सेन्टर जेठो भएको बताएका छन् । माओवादी कार्यकर्ताको मात्र नभई बैदेशिक रोजगारबाट फर्केका आम युवाहरुको संगठन बनाउन उनले जोड दिए । पूर्व कृषि मन्त्री समेत रहेका खनालले रिटर्नीहरुलाई कृषिसित जोडेर, कृषि उत्पादनलगायत नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । बैदेशिक रोजगारमा रहेका नेपाली युवाहरुको कमाइलाई कोरियन मोडलमा बदल्नु पर्ने बताउदै सचिव खनालले घर खर्च, नागरिक पेन्सन र राष्ट्रिय कम्पनीको शेयरमा लगानी गरि युवाहरुको कमाइलाई तीन किसिमले खर्च गर्नुपर्ने सुझाव दिए ।

भेलाका बिशेष अतिथि तथा १ नं प्रदेशका पार्टी अध्यक्ष हर्क नेम्बाङ्ग ‘मिक्सो’ ले बिदेशमा सिकेको ज्ञान, सीप र प्रबिधि मात्र नभएर अनुशासनलाई समेत ब्यबहारमा प्रयोग गर्न आग्रह गरेका थिए । अध्यक्ष नेम्बाङ्गले आत्मनिर्भर बन्न उत्पादन जरुरी भए जस्तै संगठनमा अनुशासनको भूमिका महत्वपूर्ण हुने बताउँदै रिटर्नी सेन्टर नेपालले नेपाली समाजसँग जोडिने पुलको काम गर्नुपर्ने सुझाव दिएका छन् ।  अध्यक्ष नेम्बाङ्गले सेन्टरलाई पार्टी केन्द्र र प्रदेशले प्राथमिकता साथ हेरिरहेको जानकारी समेत दिएका थिए । 

भेलालाई पार्टी केन्द्रीय सदस्य रामकुमारी चौधरी, रिटर्नी सेन्टरका केन्द्रीय संयोजक देबेन्द्र सम्बाहाम्फे, पार्टी प्रदेश कमिटी कोषाध्यक्ष तथा रिटर्नी सेन्टरका फ्र्याक्सन इन्चार्ज गगन पुरी, रिटर्नी सेन्टर केन्द्रीय सह–संयोजक डोरबहादुर कार्की, केन्द्रीय सचिब भीम लकान्द्री, वाईसीएल प्रदेश संयोजक कुमार आचार्य लगायतले आ–आफ्नो भनाईसहित शुभकामना दिएका थिए । 

रिटर्नी सेन्टर नेपाल १ नं प्रदेशका संयोजक बिशाल भण्डारीको अध्यक्षतामा भएको भेलामा  १ नं प्रदेशका सह–संयोजक गणेश सौगात कालिकोटेले कार्यक्रमको सञ्चालन गरेका थिए ।  कार्यक्रममा पार्टीका तथा रिटर्नी सेन्टर नेपालका प्रदेश तथा जिल्लाका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।