झापा । 

साउदी अरबमा एक म्यानपावर सञ्चालक बेपत्ता भएपछि खोजी भइरहेको छ । साउदी अरेबियास्थित नेपाली दूतावासले कामदारको समस्या समाधानको छलफलका क्रममा बेपत्ता बनाइएका वैदेशिक रोजगार व्यवसायी वीरेन्द्र साह तेलीको स्थानीय प्रहरीको सहयोगमा खोजी भइरहेको जनाएको छ ।

 फ्रेन्डसिप इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक तेली साउदी अरेबियाको रियादस्थित फरिस अल रीम कम्पनीमा विगत केही समयदेखि समस्यामा रहेका नेपाली कामदारको समस्या समाधानका लागि गत मंगलबार राति यूएईबाट साउदी अरेबिया पुगेका थिए ।

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साउदी मामिला संयोजक बैकुण्ठ पौडेल ‘बैभव’ले व्यवसायी तेली समस्यामा रहेका कामदार रहेको कम्पनीमा पुगे लगत्तै कम्पनीसँग सम्बन्धित इस्लाम नामको व्यक्ति र उसको भाइसँग नेपाली कामदारलाई  काम र तलब नदिएकोलगायतका विषयमा छलफल हुँदा उनीहरूले नेपाली कामदारकै अगाडि व्यवसायी तेलीलाई घाइते हुने गरी पिटेर बेपत्ता बनाएको जानकारी आएको बताए । व्यवसायी तेलीको झोला आफूहरूसँग रहेको उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरूले एक भिडियोमार्फत बताएका छन् ।

साउदी अरेबियामा कम्पनी मालिकले कामदारलाई समय–समयमा कुटपिट तथा अभद्र व्यवहार गरेका समाचार आएपनि व्यवसायीलाई नै रोजगारदाताका तर्फबाट कुटपिट र बेपत्ता बनाएको पहिलो घटना मानिएको छ ।

संयोजक पौडेलले घटना मंगलबार रातिको भएका कारण बुधबार बिहान मात्रै नेपाली दूतावासलाई जानकारी गराएको त्यसपछि नेपाली दूतावासले साउदी प्रहरीलाई खबर गरी रियाद प्रहरीको अनुसन्धान टोली र दूतावासका प्रतिनिधि घटनास्थल पुगेको जानकारी आएको बताए ।