झापा । 

केही समयमै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्यामा सुधार आउने भएको छ ।  पार्टी निकट वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको समस्या समाधानका लागि मंगलबार  पेश गरेको १० बुँदे सुझावसहितको मागपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त कुरा बताएका छन् ।

प्रतिनिधि सभाका माओवादी सांसद लेखनाथ दाहालको नेतृत्वमा गएको मञ्चको टोलीमा कार्यवाहक अध्यक्ष परमेश्वर अधिकारी, महासचिव कुन्छा दोर्जे डिम्दोङलगायतको सहभागिता रहेको थियो । प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको वर्तमान सरकार वैदेशिक रोजगार र वैदेशिक रोजगारीमा गएका कामदारप्रति अत्यन्तै संवेदनशील रहेकाले केही दिनअघि विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई बोलाएर समस्या समाधानको पहल भएकोले समस्याको समाधान छिटो आउनेमा आफू विश्वस्त रहेको बताएको भेटमा सहभागी दिम्दोङले जानकारी दिए ।

मञ्चले वैदेशिक रोजगार व्यवसायको समसामयिक सुधार र खाडी मुलुकमा घरेलु महिला कामदारको प्रतिबन्ध फुकुवा सम्बन्धमा पनि प्रधानमन्त्री कार्यालयमा मंगलबार छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि रहेका बविविध प्रकारका विसंगति, विकृति, सिण्डिकेट र एकाधिकार हटाउनुपर्ने भन्दै मञ्चले युरोपसहितका मुलुकबाट नेपाली कामदारको मागपत्र प्रमाणीकरण भइ समयमै नआउँदा नेपाली कामदारको आकर्षक तलब तथा सुविधासहितको रोजगारको अवसर गुमिरहेकाले यस विषयमा सकेसम्म छिटो उचित निकास दिन माग गरेको छ ।