झापा ।
नेपाल सरकार र रोमानियाबीच बैदेशिक रोजगारका लागि भोली (शुक्रबार) श्रम सम्झौता हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको हो ।
नेपालबाट वैदेशिक रोजगारीमा जानेक्रम वर्षौं अघिदेखिको भएपनि हालसम्म मलेशिया, कतार, यूएई र दक्षिण कोरियासहित ९ वटा देशसँग मात्रै श्रम सम्झौता भएको छ । रोमानियासँगको श्रम सम्झौतामा हस्ताक्षरका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी नेतृत्वमा सचिव केवलप्रसाद भण्डारीसहित प्रतिनिधि मण्डल बुधबार रोमानिया गएको छ ।
रोमानियापछि जर्मनीसँग श्रम सम्झौता हुने बताइएको छ । पछिल्लो समय नेपाली कामदार युरोपेली मुलुकमा जानेक्रम बढेको छ । रोमानिया गत वर्ष नेपाली कामदारको प्रमुख युरोपेली गन्तव्य मुलुकका रूपमा रहेको थियो । हाल १० हजारभन्दा धेरै नेपाली उक्त मुलुकमा कार्यरत रहेको अनुमान छ ।


















