मेचीनगर।

मेची चेम्बर अफ कमर्सले दोस्रो पटक धुलाबारीमा महोत्सव लगाउने भएको छ । कमर्सले धुलाबारीस्थित रोयल निर्वानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यही असोज २६ गतेदेखि धुलाबारी महोत्सव–२०८० लगाउने भएको जानकारी दिएको हो ।

कमर्सका महासचिव प्रकाश खड्काले यही असोज २६ गतेदेखि २१ दिने महोत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । मेचीनगर नगरपालिका र जिल्ला प्रसाशन कार्यालय झापाबाट कानुनको मापदण्डमा रहेर महोत्सव सञ्चालन गर्न पाउने स्वीकृति लिएको प्रदीप इन्टरप्राइजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए ।

महोत्सवमा कमर्सको ५ वटा स्टलसहित १५ स्टल रहनेछ । कमर्सको सचिवालय, स्वास्थ्य, मिडिया हेल्थ डेक्स, अशक्त र अपाङ्ग, हस्तकलाको स्टलसहित अन्य १० वटा स्टल रहने उनले बताए । 

कृषि, पर्यटकीय व्यापारिक सांगीतिक तथा फुड फेस्टिवल महोत्सवमा करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । नाफा कमाउने उद्वेश्यले नभइ धुलाबारी बजारको पुरानो साखलाई बचाउने र यहाँको कृषिलाई प्रबर्धन गर्ने लक्ष्यका साथ सो महोत्सव लगाउने तयारी गरिएको महासचिव खड्काले बताए ।

हङकङ मार्केटको रूपमा परिचित धुलाबारी बजार केही वर्षदेखि असुरक्षा र व्यापार घाटाका कारण व्यापारीहरू पलायन भइरहेका छन् । महोत्सवमा राटेपिङ, नाउ, बालबच्चाका लागि मनोरञ्जनका सामाग्री लगायत सांस्कृतिक कार्यक्रमहरू हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने छ ।

टिकटको मूल्य एकसयदेखि २ सय रूपैयाँसम्म लाग्नेछ । महोत्सवमा सीसी क्यामेरा र सुरक्षाको प्रबन्ध मिलाइएको छ । महोत्सवमा १० वर्षका विद्यार्थी, ज्येष्ठ नागरिक र असहायहरूलाई निःशुल्क गरिएको आयोजकको भनाई छ ।

गतवर्ष आयोजना गरिएको महोत्सव विभिन्न कारणले गर्दा घाटामा गएको कमर्सका अध्यक्ष रूकमिणा आचार्य पोखरेलले बताइन् । उनले विगतको पाठ सिकेर यसपटक व्यवस्थित महोत्सव लगाउन सुरू गरिएको बताइन् । उनले महोत्सव सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरिन् ।

महोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्नेछन् । महोत्सव सञ्चालनका लागि १०१ मुल समिति गठन गरिएको छ । महोत्सव मुल व्यवस्थापन समिति संयोजकमा कमर्सका निवर्तमान अध्यक्ष रविन बस्नेत, सहसंयोजकमा ध्रुबविक्रम नेम्बाङ, सचिवमा प्रकाश खड्कालगायत रहेका छन् । महोत्सव लगाउन धुलाबारी रोलिङ क्लबको अहम् भूमिका रहेको छ ।