झापा । 

नेपाल र जर्मनीबीच मंगलबार(आज) श्रम समझदारी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अक्टोबर १० अर्थात आज नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको जनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल जर्मनी पुगिसकेको छ । नेपाली प्रतिनिधिमण्डलले सोमबार बर्लिनस्थित नेपाली दूतावासमा अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्यूरोका निर्देशक डा.आन्नेट्टे नेइडेरफ्रान्केसँग शिष्टाचार भेटवार्ता गरेको छ । 

मर्यादित एवम् सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई जर्मनीमा सामाजिक सुरक्षाका लागि सहकार्य गर्ने बारेमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपालले रोमानियासँग गत शुक्रबार मात्र श्रम समझदारी गरेको थियो ।  रोमानिया र जर्मनीसँगका श्रम समझदारीमा नेपाली कामदारको सामाजिक सुरक्षा, तलबलगायतका सुविधामा स्थानीय कामदार सरहको सुरक्षा प्रदान गरिएको छ ।

नेपालले जर्मनीसँग प्रशिक्षार्थी श्रमिक लैजान श्रम समझदारी गर्न लागेको हो । श्रम समझदारी भएपनि जर्मनीको कुन क्षेत्रमा कति नेपाली कामदार जाने भन्ने विषय टुंगिएको छैन ।