झापा । 

मलेशियामा बसेर एक ब्यक्तिले नेपालका विभिन्न म्यानपावरहरुलाई डिमाण्ड दिने बहानामा बनाएर ठग्ने गरेको पाइएको छ ।  केही वर्ष अघिदेखि मलेशियामा रहेका सागर कुशवाहले बिभिन्न बहानामा ठग्ने गरेको खुलेको हो । कुशवाहाले मलेशियामा बसेर नेपालमा रहेका व्यवसायीहरुलाई विभिन्न माध्यमबाट सम्पर्क गर्ने र पुराना एप्रुभल पठाएर डिमाण्ड सेक्युरिटीका लागि रकम माग गर्ने गरेको व्यवसायीहरु बताउँछन् । 

पछिल्लो समय कुशवाहाले विभिन्न म्यानपावरको लाखौं रकम ठगेको बताइएको छ । कुशवाहाले फ्रि भिसा फ्रि टिकटको डिमाण्ड दिलाउने भनी म्यानपावर सञ्चालकहरुसँग सापटी रकम लिने र पछि डिमाण्ड अन्यत्र नै गयो भनी आफूले सापटी लिएको रकम तिर्न बैंकमा रकम नै नभएको चेक दिएर ठग्ने गरेको बुझिएको छ । कुशवाहा यस्तै ठगी प्रकरणमा जेलसमेत परिसकेको प्रहरी सूत्रले बताएको छ । उनले आफ्नो ठगी धन्दामा आफ्ना भाइ सुवलाल प्रसाद कुशवाहालाई समेत प्रयोग गर्ने गरेको बुझिएको छ ।

नागरिकतामा छोटेलाल कुशवाहा नाम रहेका सागर नेपालमा बदनाम भएपछि मलेशिया छिरेका थिए । मलेलियामा बसेर नेपाली व्यवसायीहरुलाई ठग्ने कुशवाहासँग एउटा गिरोह नै भएको ब्यवसायीहरुको भनाई छ । यस्ता ठगहरुलाई मलेशियाबाट अविलम्ब डिपोर्ट गर्नुपर्ने माग व्यवसायीहरुले मलेशियाका लागि नेपाली राजदूतसमक्ष कुरा राखेका छन् । कुशवाहाले अन्य व्यवसायीहरुलाई पनि ठग्न सक्ने भएकाले सचेत रहन व्यवसायीहरुले सुझाव दिएका छन् ।

उनी नेपालमै एजेन्ट गर्दा कतिपय व्यक्तिलाई ठगेपछि ती म्यानपावरले आफ्नो कार्यालयमै छिर्न रोक लगाएको एक व्यवसायीले जानकारी दिए ।