झापा ।

प्रशिक्षार्थी श्रमिक लैजान नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

समझदारीमा मर्यादित एवम् सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई जर्मनीमा सामाजिक सुरक्षाका लागि सहकार्य गर्ने बारे उल्लेख  । नेपाल र जर्मनीबीच प्रशिक्षार्थी श्रमिक लैजान श्रम समझदारी भएको हो । तर जर्मनीको कुन क्षेत्रमा कति नेपाली कामदार जाने भन्ने विषय भने टुंगिन बाँकी रहेको बताइएको छ ।

जर्मनीसँगका श्रम समझदारीमा नेपाली कामदारको सामाजिक सुरक्षा, तलबलगायतका सुविधा स्थानीय कामदार सरह हुने यसअघि नै सार्वजनिक भएको थियो । नेपालले यसअघि अर्को युरोपेली मुलुक रोमानियासँग गत शुक्रबार मात्र श्रम समझदारी गरेको थियो ।