बिर्तामोड । 

विश्व दृष्टि दिवसको अवसर पारेर झापाको बिर्तामोड–३ स्थित सैनिकमोडमा सञ्चालित मेची आँखा अस्पतालले मोरङ नेत्रहिन संघ र बिर्तामोड अपाङ्ग स्वावलम्वन संस्थालाई सहयोग गरेको छ ।

मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले दुवै संस्थालाई वाइट केन (सेतो छडी)  प्रदान गरेका थिए भने बिर्तामोड अपाङ्ग स्वावलम्वन संस्थालाई एकथान प्रिन्टर सहयोग गरेका हुन् । सोही अवसरमा कौशिल्या दाहालले वुवा काँशीनाथ दाहालको स्मृतिमा मोरङ नेत्रहिन संघलाई सेतो छडी प्रदान गरेकी थिइन् ।

aakha aspatal

देश तथा विदेशमा रहेका दिन दुःखीको सेवामा मेची आँखा अस्पताल सधै अगाडि रहेको र विश्व दृष्टि दिवसका अवसरमा समेत यो वर्ष पनि विगतका वर्षहरुमा झैं नेत्रहिनहरुलाई अस्पतालले सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।

अस्पतालले प्रदान गरेको प्रिन्टर बिर्तामोड अपाङ्ग स्वावलम्वन संस्थाका अध्यक्ष दीपक थापाले ग्रहण गरेका थिए भने सेतो छडी मोरङ नेत्रहिन संघकी अध्यक्ष सीता वराइलीले ग्रहण गरेकी थिइन् ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले विश्व दृष्टि दिवसका विषयमा प्रकाश पार्दै स्वागत गरेका थिए । सो समारोहमा बिर्तामोड अपाङ्ग स्वावलम्वन संस्थाका अध्यक्ष थापा, मोरङ नेत्रहिन संघकी अध्यक्ष वराईली लगायतले बोलेका थिए ।

कार्यक्रममा अस्पतालका प्रशासकीय अधिकृत आलोक श्रेष्ठ, प्रशान्त श्रेष्ठ, अस्पताल व्यवस्थापन समिति सचिव गणेश पोखरेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका स्वाथ्य शिक्षा कार्यक्रम संयोजक युवराज वोहोराले गरेका थिए ।