झापा । 

इजरायलमा हमासको आक्रमणपछि श्रम स्वीकृति स्थगित भएपछि बैदेशिक रोजगारीमा इजरायल जाने युवायुवतीमा अन्योलता भएको छ । आकर्षक तलब सुविधामा काम गर्दै आएका नेपाली केयर गिभरको मन पनि झस्किएको छ । वैदेशिक रोजगार विभागले गत आइतबारदेखि इजरायलमा हमासको आक्रमणपछि असुरक्षा बढेको भन्दै अनिश्चितकालीन श्रम स्वीकृति रोकेको थियो ।

 विभागको निर्णयपछि नयाँ र बिदामा नेपाल आएकाहरू समस्यामा परेका हुन् । आइतबार नै अध्यागमन विभागले पनि सुरक्षाको खतरा रहेको भन्दै नेपालीलाई तत्काल इजरायल भ्रमणमा नजान ट्राभल्स एड्भाइजरी जारी गरेको थियो ।

 हाल इजरायलमा ४ हजार ५ सय केयर गिभर कार्यरत छन् । त्यसमध्ये केही हमासले इजरायलमा आक्रमण गर्नुअघि नै बिदामा नेपाल आएका थिए । केही सरकारको उद्धार उडानबाट फर्केका छन् । केही फर्किन इजरायलस्थित नेपाली दूतावासमा अनलाइन फारम भरेर सम्पर्कमा रहेका छन् ।

 वैदेशिक रोजगार विभागले इजरायलमा अवस्था सामान्यतर्फ उन्मुख हुनासाथ रोकिएको श्रम स्वीकृति सुचारु हुने बताएका छन् । हाल बिदामा आएकाहरू मध्ये अधिकांश नोभेम्भर अन्तिम साता इजरायल फर्किनुपर्ने बाध्यतामा छन् । उनी नफर्केको अवस्थामा हातमा भएको आकर्षक तलबसहितको रोजगारी गुम्ने तथा सञ्चयकोष र उपदान पनि नपाउने भएपछि बिदामा आएकाहरू तनाबमा रहेका छन् ।