बिर्तामोड । 

विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । आगामी दुई बर्षे कार्य कालका लागि समाजको अध्यक्षमा मुकुन्द ढुंगाना चयन भएका छन् । झापाको बिर्तामोडमा शनिवार र आइतबार भएको अधिवेशनले ढुंगानालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  

झापा भद्रपुरका ढुंगाना हाल अमेरिकामा बस्दै आएका छन् । ढुंगाना अनुभवी र कुशल नेतृत्वकर्ताको रुपमा परिचित छन् । बिर्तामोडमा सम्पन्न महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाट समाजको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको समाजका संरक्षक दिनेशकुमार पोखरेलले जानकारी दिए । 

समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चम्लागाँई चयन भएका छन् । बाह्रदशीका चम्लागाँई हाल कतार बस्दै आएका छन् । उनी सफल व्यवसायीसँगै सामाजिक अभियन्ताका रुपमा परिचित छन् । समाजको उपाध्यक्षमा भूपाल सिटौला (अष्ट्रेलिया), चूडामणि कार्की (कतार), महिला उपाध्यक्षमा शर्मिला बस्नेत (माल्टा) चयन भएका छन् ।

samaj

त्यस्तै महासचिवमा नगेन्द्रप्रसाद पोखरेल (नवीन) चयन भएका छन् । उनी कतार बस्दै आएका छन् । पोखरेल व्यवसायसँगै सामाजिक काममा क्रियाशील छन् । समाजको सचिवमा रवीन गिरी (साउदी अरब), ओशनिया क्षेत्रीय संयोजकमा उमेश पोखरेल (अष्ट्रेलिया), ओशनिया क्षेत्रीय उपसंयोजकमा निराजन प्रसाईं (अष्ट्रेलिया), मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र थापा (साउदी अरब), मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा भवानी कोइराला (कतार), एशिया प्यासिफिक क्षेत्रीय संयोजकमा मेघराज नेपाल (जापान), अमेरिका क्षेत्रीय संयोजकमा प्रसन्न संग्रौला चयन भएका छन् ।

समाजको कार्यसमिति सदस्यमा देवीबहादुर कार्की (साउदी अरब) र उत्तम गुरुङ कतार चयन भएका छन् । २१ जना कार्यसमिति रहने समाजका केही समितिको वैठकले मनोनीत गर्ने जनाइएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केदार कार्कीले समाजलाई आवश्यक पर्ने कानुन बनाउन आवश्यक भए त्यस बिषयमा समाजका पादाधिकारीसँग बसेर समन्वय गर्ने बताएका छन् । उनले विपदमा परेकालाई चाउचाउ र चिउरा वितरण गर्नु भन्दापनि बिपद नआउने वातारण सिर्जना गर्न कोशी प्रदेश सरकारसँग समन्वय गर्न समेत सुझाव दिएका छन् । नेतालाई बिदेश लगेर रक्सी खुवाउने र निर्वाचन ताका पैसा पठाउने कार्य नगर्नसमेत मुख्यमन्त्री कार्कीले सुझाव दिएका छन् । 

समाजका अध्यक्ष दीपकप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दीपक चुडालले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव नविन पोखरेलले गरेका थिए । समाजले बिपद ब्यवस्थापन, स्वास्थ्य क्षेत्र, खेलकूदक्षेत्रलगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।