झापा ।  

नक्कली शैक्षिक कागपत्र बनाएर भिजिट भिसामा पठाउने गिरोहमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङले उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको अभियोगमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको हो । 

 प्रहरीले नक्कली कागजातका आधारमा विदेश जान खोजेका श्रेष्ठलाई पनि पक्राउ गरेको छ । गृह मन्त्रालयले भिजिट भिसामा विदेश जान कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड  तोकेको छ । प्रहरी जवान तामाङले श्रेष्ठसँग शैक्षिक प्रमाणपत्र र सबै प्रक्रियाका लागि ५ लाख रुपैयाँ लिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ । 

 मोटो रकम लिएर नक्कली शैक्षिक प्रमाण बनाइ भिजिट भिसामा पठाउन खोजेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

शुरुमा पक्राउ परेका श्रेष्ठको बयानको आधारमा प्रहरी जवान तामाङको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरी जवान तामाङले सेटिङमार्फत भिजिट भिसामा जाने व्यक्तिहरुलाई अध्यागमन पास गराइ मोटो रकम असुल्ने हाकिमहरुको सहयोगी भूमिका खेलेको पनि बताइएको छ ।