झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायीको टोली साउदी अरेबिया पुगेको छ । साउदी अरेबियाको रोजगारीमा देखिएका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालको नेतृत्वमा टोली त्यहाँ पुगेको हो । 

टोलीमा नेपाली प्रतिनिधिमण्डलामा विभागका निर्देशक कविराज उप्रेती, मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेल र द्वितीय उपाध्यक्ष सञ्जु गुरूङलगायत रहेका छन् । 

नेपाली प्रतिनिधिमण्डलले साउदीमा मुख्य चार विषयमा छलफल गर्नेछ । साउदी अरेबियास्थित नेपाली राजदूत नवराज सुवेदी पनि छलफलमा सहभागी रहनेछन् । नेपाली प्रतिनिधिमण्डलले बिहीबारदेखि नै छलफल शुरू गरेको संघले जनाएको छ । 

 टोलीले श्रम सम्झौता, जेलमा रहेका नेपाली कामदारको समस्या र उनीहरूले तिर्नुपर्ने जरिवाना, करारमा उल्लेख भएको काम र तलब पाउन नसक्दा उत्पन्न भएको कामदार, कम्पनी र म्यानपावर कम्पनीको समस्या र ‘मेघा’ कम्पनीका समस्या समाधानमा केन्द्रित रहेर छलफल तथा अन्तरक्रिया गर्ने जनाइएको छ ।