बिर्तामोड ।

होटल संघ पोखरा नेपालले शुरु गरेको ‘जाउँ है पोखरा अभियान’ लाई यसवर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटनको विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्धनको मुख्य उद्देश्य राखेर शुरु गरिएको अभियानको टोली शनिवार (आज) बिर्तामोड आइपुगेको हो । बिर्तामोडमा टोलीले झापाका पर्यटन व्यवसायी र पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । 

अभियानको टोलीलाई नाटा कोशी प्रदेशले स्वागत गरेको थियो । अभियानले देशैभरि नेपालीलाई घुम्ने बानीको विकासमा सघाउ पुगेकाले कार्यक्रमलाई निरन्तरता दिएका होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन् । 

पोखरा महानगरपालिकाको प्रवर्धनमा यही कात्तिक १६ गतेबाट २० गतेसम्म सञ्चालन हुने अभियानः अन्तर्गत यसपटक जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन जस्ता शहर समेटिएको अध्यक्ष सुवेदीले जानकारी दिए । 

अभियानले पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउन सहकार्यका लागि आएको बताइएको छ । कोभिङ–१९ बाट थला परेको पर्यटन ब्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य पनि अभियानको रहेको छ । 

आन्तरिक पर्यटन प्रवर्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव गर्दै आएको र आगामी मंसिर ९ गते अन्तर्राष्ट्रिय पोखरा क्रस कन्ट्री रेस गर्न लागेको जानकारीसमेत जानकारी गराइएको छ । 

छलफल तथा अन्तरक्रिया कार्यक्रममा नाटा कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष शेखर ढकाल, होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, नाटा कोशी प्रदेश महासचिव नविन खरेल लगायतले समन्वय गरेका थिए ।