झापा । 

मलेशियाका रोजगारदाताले श्रमिकलाई राम्रो आवास नदिएको भन्दै कारवाही गरिएको छ ।  मलेशियाको श्रम विभागले यस वर्ष अर्थात सन् २०२३ को १० महिनामा आवासको न्यूनतम मापदण्ड पूरा नगर्ने रोजगारदातालाई जरिवाना गरेको जनाएको छ ।

 मलेशियामा आप्रवासी कामदारका लागि आवास र सुविधा (संशोधन) ऐन २०१९ अनुसार तय गरिएका मापदण्ड रोजगारदाताले पालना गर्नुपर्ने व्यवस्था रहपनि पालन नगरेको भन्दै २.७१ मिलियन मलेशियन रिंगेट जारिवाना गरेको छ । मलेशियाको श्रम विभागले रोजगारदाताविरूद्व २ सय ८४ उजुरी परेको भन्दै रोजगारदाताले आफ्ना श्रमिकको स्वास्थ्य, सरसफाई र आवासको सुरक्षाको ख्याल गर्न नसकेको गुनासो व्यापक रुपमा रहेको जनाएको छ।

श्रम विभागले कामदारको  ओछ्यान, गद्दा, शौचालयजस्ता समस्या होस्टलहरूमा पाइएको समेत बताइएको छ । मलेशियाले मापदण्ड पालन नगर्ने रोजगारदातालाई अधिकतम ५० रिंगेटसम्म जरिवाना गर्ने गरेको छ । मलेशियामा करिब ५ लाख नेपाली कामदार रहेका छन् । केही दिनअघि आप्रवासी कामदारहरूलाई सेतो चामल र खाना पकाउने तेल जस्ता अतिआवश्यक दैनिक उपभोगका सामग्रीमा भेदभावपूर्ण व्यवहार भएको भन्दै मलेशियामा अधिकारकर्मी संस्थाहरूले  आवाज उठाएका थिए ।