झापा । 

नक्कली कागजात बनाएर भिजिट भिसामा पठाएको आरोपमा चारजना पक्राउ परेका छन् । चार वटा शैक्षिक कन्सल्ट्यान्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

 काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने एसिई कन्सल्टेन्सीका सञ्चालक ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भइ हाल ललितपुर इमाडोलमा रहेको प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक ४५ वर्षीय गोपाल रिमाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं नयाँबजार बस्ने निप्पोन कन्सल्ट्यान्सीका सञ्चालक ३२ वर्षीय पशुपति मैनाली र भद्रपुर नगरपालिका–१० घर भइ काठमाडौं बुढानीलकण्ठ बस्ने एस टु अब्रोड कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सागर चापागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । 

उनीहरूको साथबाट राहदानीसहितका १ हजार ३२ थान नक्कली कागजात, नक्कली बैंक स्टेटमेण्ट १३९ थान, नक्कली नाता प्रमाणित १५ थान, नक्कली प्रहरी रिपोर्ट २५ थान, ४० वटा नक्कली श्रम स्वीकृति, १३ वटा कोभिड–१९ को नक्कली क्युआर कोड, १२ कक्षाको नक्कली सर्टिफिकेट ६१ वटा, एसएलसीको नक्कली सर्टिफिकेट ३ वटा बरामद भएको प्रहरीले बताएको छ । 

उनीहरुलाई विभिन्न व्यक्तिका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको दुई सय ३० वटा छापसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरीएको हो । प्रहरी अनुसार यसअघि भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चार जनालाई  कात्तिक १८ गते पक्राउ गरिएको थियो ।

उक्त कार्यमा चापागाईंलगायतका व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ परेकाहरूलाई लिखतसम्बन्धी कसुरको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । अभियोग पुष्टि भएमा उनीहरूलाई सात वर्षसम्म कैद सजाय र जरिवाना हुने व्यवस्था रहेको छ ।