झापा । 

अधिकांश देशमा व्यापारमा आएको कमी तथा आर्थिक मन्दीका कारण रोजगारदाता कम्पनीहरूले विदेशी कामदारलाई तोकिएको न्यूनतम तलब दिन पनि दिन समस्या भएको छ ।  मलेशियामा पनि आर्थिक अवस्था कमजोर रहेपनि विदेशी कामदार रोजगारीमा राखिरहनुपर्ने बाध्यता रहेको छ । 

धेरै व्यवसायीहरूले व्यवसायमा सुधार आइ थप कामदारको आवश्यकता परेमा कम्पनीहरूलाई फेरि नयाँ कामदार ल्याउन कठिनाइ हुने भएकाले पनि हाल कार्यरत कर्मचारीहरूको ओभरटाइम कटौती गरेर भएपनि टिकाइराख्नु बाध्यता रहेको छ । 

मलेशियामा गत मार्चदेखि विदेशी कामदारको एप्रुभल दिइएको छैन । त्यसले मलेशियामा ठूलादेखि मध्यमस्तरका रोजगारदाता विदेशी कामदार अभावले व्यवसाय सञ्चालनको समस्यामा छन् । विदेशी कामदारहरू स्वदेशमा गरिएको बाचा अनुसार हाल मलेशियामा ओभरटाइम नदिएको र त्यसले आफ्नो आम्दानी घटेको गुनासो गरिरहेका छन् । 

मलेसियाका मानव संशाधन मन्त्री वी. शिवकुमारले नयाँ कामदारको एप्रुभल दिनुभन्दा स्वदेशमै अवैधानिक अवस्थामा रहेका कामदारलाई वैधानिकता दिएर रोजगारीमा पठाउने प्रस्तावमा आफू सहमत भएको बताएका छन् ।

मलेशियामा कतिपय सांसदहरूले देशभित्रै लुकीछिपी बसेका विदेशी कामदारहरूलाई वैधानिकता दिएर काममा लगाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुलाई तालिमको आवश्यकता नपर्ने र भर्नाको लागत कम हुने उनीहरुको बुझाई छ। हाल मलेसियामा वैधानिक तथा अवैधानिक हैसियतमा ३५ लाख बढी विदेशी कामदार रहेको अनुमान छ । त्यसमा ५ लाखभन्दा बढी नेपाली कामदार रहेको आंकलन छ ।