झापा । 

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको पृथ्वीनारायण नगरपालिका वडा नम्बर ६ घर भइ हाल काठमाडौं तार्केश्वर–१ बस्ने ३५ वर्षीय राजेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले जनक बरालसहित ५ जनालाई वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाउने बहानामा ३४ लाख १३ हजार रुपैयाँ ठगी गरेको आरोप छ । बुधबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले प्रतिव्यक्ति करिब सात लाख रूपैयाँका दरले ३४ लाख १३ हजार रुपैयाँ लिएर फरार भएको भन्दै वैदेशिक रोजगार विभागमा किटानी उजुरी परेको थियो ।