बिर्तामोड । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको आयोजना तथा पर्यटन बोर्डको एसटिएलआरपि प्रोजेक्ट अन्तरगत युएनडिपीको आर्थिक सहयोगमा झापाको बिर्तामोडमा पाँच दिने तालिम शुरु भएको छ । 

पूर्वी नेपालमा भ्रमण प्याकेजको उत्पादन र पर्यटकको सेवाका बारेमा जानकारी दिने उदेश्यले शनिवार आज मंसीर ९ देखि १४ गतेसम्म पाँच दिने प्रशिक्षण शुरु भएको हो । दिनमा दुईवटा प्रशिक्षण हुने कार्यक्रममा ३०/३० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । 

कोभिडका कारण सुस्ताएको पर्यटन ब्यवसायलाई चलायमान बनाउन तालिमको आयोजना गरिएको नाटा कोशी प्रदेश महासचिब नविन खरेलले जानकारी दिए । 

आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेको पूर्वी नेपालमा अधिक पर्यटक आकर्षण गर्न प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा भ्रमण प्याकेज कसरी र कस्तो बनाउने, पर्यटकहरुलाई सेवाहरु कसरी प्रदान गर्ने भन्ने बारेमा केन्द्रित हुनेछ ।

नाट्टा कोशी प्रदेश अध्यक्ष पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा उद्घाटन भएको प्रशिक्षणमा नाट्टा केन्द्रीय सचिव तथा तालिम संयोजक युविका भण्डारी, विनय शाक्य, पंकज प्रधानांग लगायतले प्रशिक्षण दिने छन् ।

प्रशिक्षणमा झापाका पर्यटन तथा होटल व्यवसायी, सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थी, व्यवसायीको सहभागिता रहेको छ । नाट्टा कोशी महासचिव नविन खरेलले सञ्चालन गरेको प्रशिक्षणलाई जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत प्रशिक्षण दिइएको हो ।