धनकुटा । 

धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो ।

धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो । सो टोलीलाई बुधवार धनकुटा नगरपालिकाले स्वागत गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारी लगायतले उनीहरूलाई स्वागत गरेका छन् ।

देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड लगायत टोलीमा सहभागी छन् । पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृति लगायत अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्नेछन् ।