झापा । 

हात्तीलाई पर्यटनसँग जोड्न प्रकृति पार्क निर्माण हुने भएको छ । झापाको मेचीनगर–४ बाहुण्डाँगीस्थित मेची खोलामा निर्माण हुने भएको हो । प्रकृति पार्कको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

हात्तीबाट प्रताडित बाहुण्डाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै आइरहेको छ । तर, त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न भने खासै सकिरहेको छैन । फलस्वरूप अहिले पनि सिमावर्ती क्षेत्र बाहुण्डाँगीबासी र जंगली हात्तीबिच द्वन्द्व निरन्तर चल्दै आइरहेको छ ।

स्थानीय सरकारले निरन्तर आउने हात्तीलाई नेपाल प्रवेशमा रोक लगाउँदै मेची खोलामा हात्तीलाई पर्यटनसँग जोड्ने अभियान शुरु गरेको छ । सधैं भारतबाट नेपाल प्रवेश गरी गाउँ घरमा क्षति पुर्याउँदै आएका जंगली हात्तीलाई सिमानामा नै रोकी नेपालीहरूको संभावित क्षति न्यूनीकरण गर्नुका साथै हात्तीलाई पर्यटन संग जोड्ने उदेश्यका साथ प्रकृति पार्कको अवधारणा ल्याइएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको भनाई छ ।

मेची किनारमा प्रकृति पार्क निर्माणसँगै नेपालकै ठुलो राष्ट्रिय झण्डा, २२ धारा, चिल्ड्रेन पार्क, फुलबारी, विभिन्न किसिमका बत्ती जडान हुनेछ । ३२ लाखमा निर्माण हुने उक्त पार्कमा ५०/५० कार्यक्रम अन्तर्गत मेचीनगरबाट १६ लाख तथा नेपाल पर्यटन बोर्ड अन्तर्गत युएनडिपीको १६ लाख बजेट विनियोजन भएको छ । उपभोक्ता मार्फत निर्माण हुने सो पार्क पुस मसान्तसम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।