झापा । 

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नभएसम्म जहाजको टिकट नलिन र कार्यालयमा भौतिक रुपमा उपस्थित नहुन आग्रह गरेको छ । टोकनबाट प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टा अर्थात तीन दिनभित्र श्रम स्वीकृतिको सेवा दिइने जनाएको हो । 

 विभागले  ७२ घण्टाभित्र सेवा दिइने भन्दै श्रम स्वीकृतिका लागि विभागमा उपस्थित नहुन सेवाग्राहीलाई आग्रह गरेको छ । श्रम स्वीकृतिका लागि प्रयोगमा ल्याइएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा लामो समयसम्म समस्या आएका कारणले श्रम स्वीकृतिमा विलम्ब भएपछि विभागमा कामको चाप र सेवाग्राहीको दबाब रहेको छ ।

केही बिचौलियाले विभागमा रहेको कामको चाप र अस्तव्यस्तताको फाइदा उठाउन चलखेल गर्न थालेकोसमेत बताइएको छ । अनलाइन प्रणालीबाट सहजरुपमा श्रम स्वीकृति पाउने आंकलन गरी जहाजको टिकट लिएर काठमाडौं आएर बस्दा पनि समयमा श्रम स्वीकृति नपाउँदा कतिपय कामदारको कम्पनीले दिने रिटर्न टिकट नभएर खेर जाने गरेको छ ।

विभागले बुधबार सेवा प्रवाहको ७२ घण्टे प्रतिबद्धता सार्वजनिक गर्दै फेमिसमार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने अवस्था रहेकोले उपलब्ध जनशक्तिको आधारमा दैनिक टोकन खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएकोले कार्यालयमा उपस्थित भएकै कारणले श्रम स्वीकृति नहुने बताइएको छ ।