झापा । 

वैदेशिक रोजगार विभागले सात महिनाको अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता गरेको छ भने १६ वटाको इजाजतपत्र निलम्बन र दुई म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरेको छ । 

गत शुक्रबार विभागबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका महानिर्देशक मदन दाहालले आफ्नो सात महिने कार्यकालमा सम्पादन गरेका मुख्य कामहरुको विवरण सार्वजनिक गर्दै उक्त बिवरण सार्वजनिक गरेका हुन् । 

 महानिर्देशक दहालले सात महिनाको अवधिमा संस्थागत अर्थात म्यानपावर कम्पनीविरुद्ध २ सय ६९ उजुरी दर्ता गरी १ सय ६२ उजुरीमा मिलापत्र गराइ २ करोड ९२ हजारभन्दा बढी रकम क्षतिपूर्ति स्वरुप वैदेशिक रोजगारबाट फर्केका कामदारलाई उपलब्ध गराएको उल्लेख गरेका छन् ।

त्यस अवधिमा व्यक्तिगततर्फ ५ सय ९२ उजुरी परेकोमा ६८ वटामा मिलापत्र गराइ २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ भने व्यक्तिगततर्फ २३ करोड २७ लाख ९७ हजार क्षतिपूर्ति माग भएकोमा मिलापत्र हुन नसकेको ५ करोड १७ लाख ८६ हजारभन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधीकरणमा ६० वटा मुद्दा दर्ता गरेको उनले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, सम्झौताबमोजिमको काम र तलब सुविधा नपाएका कामदारहरुको सन्दर्भमा विभागले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै दहालले विभागको अनुगमन र अनुसन्धानको नियामकीय कार्यले वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढेको दाबी गरेका छन् ।