झापा । 

 वैदेशिक रोजगार विभागले इजरायलको कृषि क्षेत्रका लागि नेपाली कामदार लैजाने विषयमा छलफल भएपनि मंगलबारसम्म कुनै निर्णय नगरेको जनाएको छ । 

इजरायलमा विदेशबाट कृषि कामदार लैजाने प्रक्रियालाई तीव्रता पारिएको अवस्थामा नेपालका केही पक्षले उक्त मुलुकमा कृषि कामदार पठाउने भन्दै प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको उल्लेख गर्दै विभागले कृषि क्षेत्रका सिक्दै कमाउँदै ‘लर्न अर्न’ कार्यक्रम तथा अन्य क्षेत्रमा पठाउने आश्वासन र प्रलोभन दिएर ठगी हुने अवस्था रहेकाले सचेत हुन आग्रह गरेको छ ।

विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्ति जारी गर्दै ठगी सम्बन्धमा सूक्ष्म अध्ययन गरिरहेको समेत दाबी गरेको छ । प्यालेस्टाइनको लडाकु संगठन हमासको आक्रमणपछि इजरायलमा अधिकांश कृषि कामदार असुरक्षाको कारण देखाउँदै स्वदेश फर्किएपछि हाल इजरायलमा कृषि कामदारको समस्या बढेको छ ।

हमाससँगको लडाइँ कमजोर हुने परिस्थिति देखिएपछि इजरायलले कृषि क्षेत्रमा हुनसक्ने कामदारको अभाव परिपूर्ति गर्न विदेशी कामदार ल्याउने कामलाई तीव्रता दिएको छ । नेपाल सरकार र इजरायलबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने गरिएको छ ।

Notice_1