झापा । 

वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रीस पठाउने बहानामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको  छ । प्रलोभनमा पारेर ठगी गरेको उजुरीका आधारमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ९ घर भइ हाल ललितपुर महानगरपालिका वडा नम्बर ४ बागडोल बस्ने होमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले लक्ष्मण सापकोटासमेत दुई जनालाई ठगेको आरोप छ ।  तामाङले मासिक एक लाख १५ हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारेर प्रति व्यक्ति १० लाख ५० हजार रुपैयाँ लाग्ने बताएर १३ लाख ८४ हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए ।

प्रहरीले तामाङलाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।