झापा । 

दुबई बसेर करडौं दर्जनौं नेपाली ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरी नेपाल ल्याइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेक्युरिटी गार्डको आकर्षक तलबसहितको रोजगारी भन्दै दर्जनौं नेपाली ठगेको अभियोगमा यूएईबाट एक जनालाई पक्राउ गरी नेपाल ल्याएको हो ।

 ठगी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको हो । उपाध्यायविरुद्ध ५१ जना पीडितले १ करोड ५५ लाख ९२ हजार ५ सय २५ रुपैयाँ ठगी गरेको जाहेरी दिएका छन् । अदालतको पक्राउ पुर्जीपछि उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । उपाध्यायमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप पनि रहेको छ । 

ब्युरोको अनुरोधमा इन्टरपोल प्रहरीले उनीविरुद्ध २०७९ साल जेठ ६ गते रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायलाई काठमाडौं जिल्ला अदालतमा ठगी अभियोगमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।