झापा । 

 भिजिट भिसामा बिदेश गएका एक हजार पाँच सय भन्दाबढी मध्ये दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । भिजिट भिसामा गएका एक हजार पाँच सय भन्दा धेरैको कागजात अध्ययन गर्दा २४६ जनाको कागजात नक्कली देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको हो । 

नक्कली कागजात बनाउने धन्दामा सरकारी कर्मचारीकै संलग्नता देखिएको बताइएको छ । प्रहरीका अनुसार प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको छ । भिजिटमा गएका अधिकांश वैदेशिक रोजगारका लागि गएको देखिएको छ ।

शंकास्पद कागजातसहित पठाउने धन्दामा सरकारी कर्मचारीसहित शैक्षिक कन्सलटेन्सी सञ्चालक, एजेन्ट, ट्राभल एजेन्सी र एयरलाइन्ससँग जोडिएका व्यक्ति रहेका छन् । उनीहरुले पहिलोपटक भिजिटमा जानेलाई प्रतिव्यक्ति ५५ हजार उठाउने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानको आधारमा अध्यागमन कर्मचारी, एजेन्ट, ट्राभल्स सञ्चालक, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित हालसम्म ३५ जनाभन्दा बढीलाई संगठित अपराध, लिखत सम्बन्धी कसुर अभियोगमा मुद्दा चलाउन म्याद थप गरेर थुनामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले नक्कली कागजातका आधारमा पठाइएका महिलालाई घरेलु काममा लगाएर शारीरिक तथा यौन शोषण गर्ने गरेको जानकारी आएको पनि जनाएको छ ।