झापा । 

 वैदेशिक र आन्तरिक क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको अधिकार तथा अन्य अवस्था सुधार गर्न पाँच वर्षे सहयोग सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आईएलओ कन्ट्री डाइरेक्टर नुमान ओजक्यान र जेटीयूसीसीका अध्यक्ष विनोद श्रेष्ठले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रम सन् २०२७  सम्म सञ्चालन हुने जनाइएको छ । मर्यादित कामका लागि देशीय कार्यक्रम शीर्षक रहेको कार्यक्रममा बुधबार उनीहरुले हस्ताक्षर गरेका हुन् । आईएलओले कार्यक्रमबाट समावेशी र मर्यादित कामका लागि दिगो उद्यमहरुका साथै उत्पादनशीलता अभिवृद्धि, रोजगारी प्रवर्द्धन, उद्यमशीलताका दिगो विकासका लागि वातावरण सुधार हुने अपेक्षा गरेको छ । 

 त्यस्तै कार्यक्रमले रोजगारीको गुणस्तरीय सेवाहरुमा बढी पहुँच, सीप सिकाइ र सीप विकासको माध्यमबाट दक्ष, अनुकूलनीय र उत्पादक श्रमशक्तिको वृद्धि, रोजगारी क्षेत्रमा समावेशीताको प्रवर्द्धनको पनि लक्ष्य राखेको छ ।