सुरुङ्गा । 

सुवास राउत स्वदेश फर्काऔं अभियानको आयब्यय सार्वजनिक गरिएको छ । अभियानले आइतवार (आज) कनकाई–४ स्थित सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको आम्दानी र खर्च सार्वजनिक गरेको हो । 

३ बर्ष अघि बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहँदा साथीको हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएर कतारको जेलमा रहेका कनकाई–४ का ३१ बर्षिय राउतलाई स्वदेश फर्काउने अभियान शुरु गरिएको थियो । उनलाई स्वदेश फर्काउनका लागि शुरु गरिएको अभियानबाट संकलित रकमको अभियानले पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो । 

अभियानले संस्थागत, ब्यक्तिगत, बिदेशमा रहेका नेपालीहरुसहितबाट २० लाख २४ हजार ६५० रुपैयाँ संकलन गरेर राउतलाई नेपाल फर्काउन सफल भएको पत्रकार सम्मेलनमा बताइएको छ । अभियानले ब्लड मनिबापत मृतकको परिवारलाई १५ लाख रुपैयाँ प्रदान गरेको कागजात कतार पठाएपछि राउत ३ बर्षपछि घर फर्किएका छन् । 

१५ लाख ब्लडमनीसहित बिबिध कार्यमा अभियानले खर्च गरेर रहेको रकम कनकाई–४ मा सञ्चालित कनकाई बाल शिक्षा केन्द्रलाई सहयोग गर्ने भएको पत्रकार सम्मेलनमा बताइएको छ । सवै खर्च कटाएर रहेको करिब २ लाख ५० हजार रुपैयाँ केन्द्रलाई दिने भएको हो । अभियानका संयोजक गोबिन्दप्रसाद पौडेलको अध्यक्षतामा भएको आयब्यय सार्वजनिक कार्यक्रममा संघीय सांसद एलपी साँवाको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत कनकाई वडा नम्बर ४ का वडाध्यक्ष रोशन सुवेदीले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश दीपक चापागाईले पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि साँवा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले आ–आफ्नो भनाई राखेका थिए । अभियानका सचिव युगल दवाडीले आयब्यय सार्वजनिक गरेका थिए भने कार्यक्रमको सञ्चालन धमेन्द्र सुवेदीले गरेका थिए । त्यस्तै सामाजिक सञ्जालमार्फत ध्रुव फुयालले सहयोगका लागि बिभिन्न गतिबिध सञ्चालन गरेको बताए । कार्यक्रममा पूर्वमन्त्री हिराकुमार थापा, कनकाई नगर उप–प्रमुख आशाशर्मा शिवाकोटी, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईलगायतको उपस्थिति रहेको थियो ।

यता १५ दिन अघि नेपाल फर्किएका राउतले सवैको साथ र सहयोगका कारण नेपाल फकिएर परिवारका साथमा बस्न पाएको भन्दै अभियानसहित सबैलाई धन्यबाद दिदै खुसी ब्यक्त गरे । उनका अनुसार सन् २०२० मा साथीको हत्यामा उनलाई कतारमा मृत्युदण्डको सजाय भएको थियो ।  

राउतलाई कतारमा एउटै कोठामा बस्दै आएका खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ५ का लामाकाजी राईको हत्याको आरोपमा कतारमा मृत्युदण्डको सजाय भएको थियो ।