झापा । 

मलेशियाले बैदेशिक रोजगारका लागि प्रविधिका क्षेत्रमा स्नातक तह उत्तीर्ण जनशक्ति लैजाने तयारी गरिरहेको छ । मलेशियाका लगानी, व्यापार तथा उद्योगमन्त्री तेङ्कु जाफ्रुल अजिजले इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स उद्योगलाई वार्षिक ५० हजार इन्जिनियरहरू चाहिएको बताउँदै मलेशियाका उच्च शिक्षा संस्थानहरूले अहिले एक वर्षमा ५ हजार स्नातक इन्जिनियरिङहरू मात्र उत्पादन गर्न सक्ने भएकाले उद्योगको माग पूरा गर्न समय लाग्ने बताएका छन् । उनले लगानीकर्ताहरू आर्टिफिसियल इन्टेलिजेन्समा  विदेशी स्नातकहरू राम्रो विकल्प हुन सक्छने बताएका हुन् । 

हाल कृषि, पर्यटन, सुरक्षा तथा माइनिङलगायतका क्षेत्रमा विदेशी कामदार ल्याउने अनुमति दिएको मन्त्री अजिजले विदेशी विश्वविद्यालयबाट स्नातक अर्थात ग्राजुयट गरेको जनशक्तिलाई मलेशियामा प्रविधिको क्षेत्रमा रोजगारीको अनुमति दिने योजना सार्वजनिक गरेका थिए ।

उनको धारणा सार्वजनिक भएपछि मलेसियाको केही क्षेत्रबाट प्रविधिका क्षेत्रमा स्नातक तह उत्तीर्ण जनशक्तिलाई रोजगारी दिँदा स्थानीय युवायुवती बेरोजगार हुने भन्दै आलोचना भएको थियो । त्यसको जवाफमा मन्त्री जाफ्रुलले मलेशियामा आवश्यक परेको दक्ष कामदारको माग र उत्पादन भइरहेको दक्ष जनशक्तिको संख्या अस्वभाविक रहेकाले उत्पादकहरूले वर्षौं पर्खन नसक्ने बताएका छन् । 

उनले उच्च शिक्षा हासिल गरेका विदेशी कामदार मलेसियाको संस्कृति र कार्य संस्कृति दुवै बुझ्ने भएकाले ग्राजुयट गरेका स्नातक कामदार भित्र्याउँदा देशलाई कुनै नोक्सनी नहुने पनि बताएका छन् । मलेशियामा प्रविधिमा आधारित बहुराष्ट्रिय कम्पनीहरूले लगानी बढाउँदा प्रविधिमा आधारित जनशक्तिको आवश्यकता बढेको छ ।