बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले बिविध कार्यक्रम गरी क्यान्सर दिवस मनाएको छ । अस्पतालले आइतवार (आज) क्यान्सर दिवसको अवसर पारेर क्यान्सर सम्बन्धी जनचेतना मुलक र्याली, साइकल यात्रा र विविध सांस्कृतिक कार्यक्रम गरेर क्यान्सर दिवस मनाएको हो । 

पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी अस्पतालबाट शुरु भएको क्यान्सर सम्बन्धी जनचेतना मुलक र्यालीले बिर्तामोडको वान स्टप महलमा पुगेर कोणसभासहित बिविध सांस्कृतिक कार्यक्रम गरेको थियो । र्यालीमा गोमेन्द्र बहुमुखी क्याम्पसका बिद्यार्थी, प्रहरी, बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिले जनचेतना मुलक प्ले कार्डसहित र्यालीमा सहभागीता जनाएका थिए ।   

पछिल्लो समय क्यान्सर रोगीको संख्या अत्याधिक बढ्दै गएकाले त्यसलाई रोकथाम गर्ने उदेश्यले जनचेतना मुलक कार्यक्रम गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । 

पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. विरेन्द्रकुमार यादवले क्यान्सरका बिरामी अस्पताल नै ढिलो आउने गरेका कारण पनि उपचार सम्भव नहुने गरेको बताए । उनका अनुसार बिरामी समयमै अस्पताल आएर चेकजाँच गरेर उपचार गरे क्यान्सर रोगलाई जित्न सकिनेछ । उनले पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सर वढी हुने गरेको बताएका छन् ।  डा. यादवले १४ बर्ष मुनिका बालिकाहरुलाई एचपिभि भ्याक्सिन लगाउन आग्रह गर्दै उक्त भ्यक्सिन लगाए पाठेघरको क्यान्सर रोग नहुने बताएका छन् । 

cancer diwas

त्यस्तै अस्पतालले बिर्तामोडमा आज दिउँसो झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित बिभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुबिच स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जन सम्पर्क अधिकारी गिरीले बताए । स्थानीयतहहरुले भौतिक संरचनामा मात्र ध्यान दिएकाले स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गर्दै उक्त अन्तरक्रिया आयोजना गरिएको बताइएको छ । 

उक्त कार्यक्रम अघि क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा गरिएको थियो । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालबाट शुरु भएको यात्रा मातामन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुंगिएको थियो ।

साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्सहान गर्न कार्यक्रम आयोजना गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीे जानकारी दिए ।

‘हेरचाह अन्तर बन्द गर्न सवारी गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा गरिएको हो । १८ किलोमिटर साइकल यात्रामा ५० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।