झापा । 

पछिल्लो समय वैदेशिक रोजगारको नाममा ठगीका घटना बढ्दै गएका छन् । दैनिक जसो आकर्षक तलवसहित सेवासुबिधामा विदेश पठाउने प्रलोभनमा पारेर युवाहरुलाई  ठगीने क्रम बढेको छ । यसै क्रममा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । माल्दिभ्स, न्युजिल्यान्ड र रोमानिया पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

 प्रकाश बुढाथोकीलाई मासिक एक लाख रुपैयाँ तलबमा माल्दिभ्स पठाइदिने भन्दै पटक–पटक गरी ४ लाख ४० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी खोटाङ बाक्सिलाकी फूलमाया खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।  

रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भनि ठगी गरेको उजुरीका आधारमा प्रहरीले सल्यानको सारदा नगरपालिका–१ का चन्द्रबहादुर बुढाथोकी र उनका साथी सल्यान सारदा–५ का टोप बहादुर सेजवाललाई पनि पक्राउ गरेको छ । उनीहरूले खड्गराज गिरीसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाउन प्रतिव्यक्ति ११ लाख रुपैयाँ लाग्ने बताएर दुई जनाबाट ११ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए । 

त्यसैगरी एक लाख रुपैयाँ तलब हुने काममा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको उजुरीका आधारमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–१ घर भइ हाल काठमाडौंको तार्केश्वर–१० बस्ने श्यामबहादुर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 वैदेशिक रोजगारीका लागि रोमानिया पठाउँदा ८ लाख ५० हजार रुपैयाँ लाग्ने र रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपैयाँ तलब हुने पेन्टर काममा लगाइदिने प्रलोभन देखाएर भण्डारीले शरण बुढाथोकीबाट पटक–पटक गरी ५ लाख ७४ हजार रुपैयाँ लिएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई वैदेशिक रोजगार ऐनअनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।