झापा ।

बैदेशिक रोजगारका लागि नेपालीको आकर्षक गन्तव्य मानिएको यूएईमा ब्यवसायीहरु बिचको प्रतिस्पर्धाका कारण सेलरी घट्न थालेको छ । म्यानपावर कम्पनीहरुको आपसी प्रतिस्पर्धाका कारण आकर्षक रोजगार गन्तव्य मानिएको यूएईमा नेपाली सुरक्षागार्डको लगानीको तुलनामा आम्दानी घट्ने अवस्था बन्न थालेको छ ।

 यूएईका विभिन्न क्षेत्रमा सुरक्षागार्ड पठाउने नेपालका म्यानपावर कम्पनीहरुले जसरी भएपनि डिमाण्ड हात पार्न यूएई सरकारले तोकेको भन्दा कम तलब र सुविधामा सुरक्षागार्ड पठाउन डिमाण्ड लिने गरेको चर्चा वैदेशिक रोजगार विभागमा छ ।

यूएईमा सुरक्षागार्डहरुको तलब सुविधा शहरपिच्छे फरक–फरक रहेको छ । सबैभन्दा धेरै तलब दुबई फ्रि जोनमा जानेले पाउँछन् । फ्रि जोनमा जानेले मासिक ३ हजार एईडीसम्म कमाउने गरेका छन् । आबुधावी दुबई सेक्युरिटी अन्तर्गत पीएसबीडी होल्डरले मासिक २७ सय ६२ र डीपीएस होल्डरले २२ सय ६२ एईडी न्यूनतम तलब पाउने सरकारी नियम रहेको छ । तर अनुचित प्रतिस्पर्धाका कारण पीएसबीडीको मासिक २५ सय एईडी र डीपीएसको मासिक १८ सय एईडी तलब सुविधाको डिमाण्ड आउने गरेको स्रोतले बताएको छ । 

यूएईमा नेपालीहरु सेक्युरिटीगार्ड, लाइफगार्ड र सेक्युरिटी अफिसर पदमा जाने गरेका छन् । दुर्गम र प्रतिकुल भु–बनोटमा हुर्केका नेपाली सुरक्षागार्ड शारीरिक रुपमा बलिया, कठिन परिस्थितिको पनि ह्यान्डल गर्ने, मालिकप्रति बफादार, विश्वासनीयताका दृष्टिले अब्बल तथा अपेक्षाकृत कम तलबमा पनि लामो समय काम गर्न सक्ने भएकाले यूएईमा नेपाली सुरक्षागार्डको माग सधैंभरि उच्च रहने गरेको छ ।  तर, नेपाली म्यानपावर कम्पनीहरुले नै तँछाडमछाड गर्दा कामदारको गाँस खोसिने अवस्था बनेको ब्यबसायीहरु कै भनाइ रहेको छ ।