झापा । 

यूएईमा आगामी फागुन पहिलो साता  गर्ने भनिएको रोजगार मेला  ‘जव फेयर’ केही समयका लागि सर्ने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पर्याप्त तयारी नपुगेको भन्दै संघले आगामी फागुन ३ गते यूएईमा ठूलै सहभागितामा जव फेयर गर्ने निर्णय गरेको थियो ।

संघले त्यसको संयोजन तथा तयारीका लागि प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिकबहादुर खत्री (कुमार) को संयोजकत्वमा सचिव कर्णराज कटुवाल तथा यूएई  संयोजक नारायण भुसाल सदस्य रहेको समिति गठन गरेको छ । उपाध्यक्ष खत्रीले लामो समयको अन्तरालमा हुन लालेको रोजगार मेलामा सहभागिताका लागि व्यवसायीको उल्लेख्य चासो रहेको भएपनि तयारीका लागि समय पर्याप्त नभएकाले अर्को मिति तय गर्ने निष्कर्षमा पुगिएको बताएका छन् । 

उनले व्यवसायीको सहभागिताका अधारमा स्टललगायतको लागत निर्धारण हुने भन्दै संघको कार्यदलले यूएई भ्रमण गरी अर्को मिति तोक्नु उचित हुने निष्कर्ष निकालिएको जानकारी दिए । संघले  बुधबार बैठक बसेर अर्को मितिबारे निर्णय गर्ने तयारी छ । तत्कालका लागि जव फेयरमा आफ्नो सहभागिता सुनिश्चित गर्न इच्छुक व्यवसायीहरूलाई संघले आग्रह गरेको छ ।

जव फेयरमा यूएई सरकारका प्रतिनिधि, त्यहाँका बहुराष्ट्रियसहित ठूला रोजगारदाता कम्पनी, चेम्बर आफ कमर्सलगायत विभिन्न व्यावसायिक संस्थाको सहभागिता गराउने योजना संघको छ । संघले त्यस विषयमा संघलाई छातासंस्था मान्ने शुभेच्छुक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग प्रारम्भिक चरणमा छलफल गरिसकेको छ ।

नेपालले १७ वर्षअघि नै यूएईमा जव फेयर गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेको छैन । पछिल्ला महिनाहरूमा यूएई धेरै नेपाली कामदार जाने श्रम गन्तव्य मुलुकको शीर्ष स्थानमा रहेको छ ।