झापा ।

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका  सरोज यादव,  सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन् । उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाउँने भन्दै जनही सात लाखका दरले रकम असुल्दै आएको पाइएको हो । 

मासिक एक लाख ५५ हजार तलब हुने भन्दै तीनै जनाले पीडितबाट  ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रकम लिएपछि सम्पर्कविहीन भएको भनी परेको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा तीनैजनालाई गत माघ २३ गते ललितपुरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकाश बैंकमा खाता खोली कारोबार रामसेवक सिंहबाट गर्ने गरेको पाइएको छ । 

सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादव धनुषामै रहेका र उनीहरुलाई आफ्नो नागरिकता दुरुपयोग भई धेरै व्यक्ति ठगिएको बारेमा जानकारी नभएको प्रहरीले जनाएको छ ।  पीडितहरुले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिएकामा यस कार्यालयबाट निजहरुलाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्नो ज्वाइँ नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुल्न आएको छ ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको  ६० लाख रुपैयाँ बराबरको २५ थान चेक र नौ सिमकार्ड फेला परेको छ । तीनैजनामाथि ठगी, कीर्ते जालसाजी, बैंकिङ कसुरलगायत अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।