झापा । 

वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे ३ लाख युवायुवतीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भएका कामहरुको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै विभागले विगत ६ महिनाको अवधिमा ३ लाख ४३ हजार ४ सय ११ जनाको श्रम स्वीकृति भएको जनाएको हो ।

 सो अवधिमा म्यानपावर कम्पनीमार्फत १ लाख ५८ हजार ९ सय ८५ जना, व्यक्तिगत नयाँ ४२ हजार १ सय ९० जना, पुनः श्रम स्वीकृतिमार्फत १ लाख ३५ हजार ४ सय ३५ जना र ईपीएसमार्फत ६ हजार ८ सय जनाको श्रम स्वीकृति भएको छ । ६ महिनाको अवधिमा लाख ४३ हजार ४ सय ११ जनाको श्रम स्वीकृति भएकोमा त्यसमा महिलाको संख्या ३९ हजार ५ सय ७२ जना रहेको विभागले जनाएको छ ।

 विभागले राहत उद्धार तथा समन्वय शाखाबाट पुस मसान्तसम्ममा ६ सय ९० जनाको उजुरी  परेकोमा ३ सय ६२ वटा फछ्र्यौट गरिएको, ४५ जनाको उद्धार गरिएको, १ सय ७२ जनालाई १ करोड ३९ लाख ४६ हजार क्षतिपूर्ति उपलब्ध गराएको र ६५ जनालाई स्वदेश फर्काएको विवरण सार्वजनिक गरेको छ । 

 त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा १ हजार १ सय ३० वटा उजुरी परेकोमा १ सय ९१ वटामा मिलापत्र गराइ ११ करोड २८ लाख ९६ हजार क्षतिपूर्ति भराइ मिलापत्र हुन नसकेका ८४ वटा उजुरीमा छानबिन गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरिएको जनाएको छ ।

त्यसैगरी प्रहरी शाखाले १ हजार ६ सय ७५ वटा उजुरी दर्ता गरेकोमा ६५ वटामा मिलापत्र र अन्य ८ सय ५८ वटा प्रतिवादीले रकम तिरेका कारणले ९ सय २३ वटा उजुरी फछ्र्यौट भइ १ करोड ४२ लाख ९ हजार ४ सय रूपैयाँ असुली भएको जनाएको छ । समग्रमा विभागले ६ महिनाको अवधिमा ४ हजार ४ सय ९५ वटा उजुरी दर्ता गरी त्यसमध्ये १ हजार ५ सय ६० वटा फछ्र्यौट गरी १३ करोड ८४ लाख ४५ हजार क्षतिपूर्तिको रकम असुल उपर गराइदिएको जनाएको छ ।