झापा ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबी शुरु भएको डायलगमा नेपालले कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । 

आबुधाबी डायलगमा नेपालले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको हो । उच्च श्रम अधिकारीहरुको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले उक्त प्रस्ताव राखेका थिए।

यूएईको अबुधाबीमा शनिबारदेखि शुरु भएको डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ । शनिबार नेपालको तर्फबाट दृष्टिकोण राखेका श्रम मन्त्रालयका सहसचिव पोखरेलले रोजगारदाता देशहरुले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 

रोजगार गन्तव्य देशहरुले न्यायोचित भर्ना, कार्यस्थलमा कामदारको स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा सचिव पोखरेलले जोड दिएका छन् । बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ५ सदस्यीय टोली यूएईमा रहेको छ । 

हाल खाडी मुलुक अन्तर्गत यूएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली कामदार जाने गरेको भएपनि कतारले मात्रै कामदारको न्यूनतम तलब निर्धारण गरेको छ । अबुधाबी डायलगअन्तर्गत आइतबार (आज) मन्त्रीस्तरीय बैठक हुँदैछ ।