झापा ।

झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गतेदेखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो ।

 गाडेको अवस्थामा शव फेला परेसँगै घटनाबारे सुक्ष्म अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरिगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका दुई जनालाई फागुन ३० गते नै पक्राउ गरेको हो । 

 पक्राउ पर्नेमा मृतककै नाती १८ बर्षीय धिरज बिश्वकर्मा र स्थानीय १८ बर्षीय राजु मल्लिक रहेका छन् । गाँजा खाई लट्ठ भएका बिकले फागुन २६ गते राती २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा बृद्धाको घटना स्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

हजुरआमाको मृत्यु भएपछि आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।