शिवसताक्षी । 

झापाको शिवसताक्षी नगरपालिका–८ ले स्कुल डाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमकाबीच वडाध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा राखेर विद्यालय परिसर घुमाउँदै विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

वडाध्यक्ष फेउदिन, वडा सदस्य टिकामाया दर्जी, विवेक थिंङ, ज्ञानु लुइँटेल र वडा सचिव पुष्पलाल पाण्डेले विद्यालयकी प्रधानाध्यापक तारा लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई  विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् । 

विद्यालयलाई वडाले अटो रिक्सा दिएपछि आउने शैक्षिक सत्रमा विद्यार्थीको चाप बढ्ने वडा कार्यपालिका र विद्यालय प्रसाशनको ठम्याई छ । सम्झना चोक, डाँडा गाउँ, मुसर बस्ती, बिहानी चोक, कञ्चन टोल, बुद्ध चोक, पगरी टोल, गुराँस चोक लगायत टाढा टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा आउन र गन्तव्य सम्म पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक तारा लावतीले बताइन् । 

विद्युतीय अटो रिक्सा चालकले दिएको तीन सयले विद्यालयले एक जना निजी शिक्षक नियुक्ति गर्ने विद्यालय प्रशासनले योजना बनाएको छ । नर्सरीदेखी कक्षा १ सम्म अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि कक्षा २ सम्म अङग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने भएको छ । 

आदिवासी, जनजाति, सन्थाल र दलित समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यार्थी सङ्ख्या वृद्धि हुने वडा अध्यक्ष फेउदिनले बताए । उनका अनुसार टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको हो ।