दुर्गापुर ।

 झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डशनको हाताभित्र निराहार सातदिने भूतपस्यामा बसेका साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले सात दिने भूतपस्या पूरा गरेका छन् ।  शुक्रवार (आज) मनोक्रान्तिका प्रवर्तक डा. योगी विकाशानन्दले जुस पिलाएर साधक लिम्बूलाई भूतपस्याबाट निकालेका हुन् ।  २०६४ सालबाट मनोक्रान्ति साधनमा लागेका झापा कमल गाउँपालिका–७ केर्खा स्थायी घर भएका साधक लिम्बूले पहिलो पटक भुतपस्या बसेका हुन् ।

भूतपस्याबाट निस्किएका साधक लिम्बूले गुरुको शक्ति र दृढ इच्छाशक्तिका कारण तपस्या पूर्ण भएको बताए । ‘सात दिन केही नखाइ बसेपनि  मलाई भोक लागेको छैन’, उनले भने ‘मैले आफूमा अद्भुत शक्ति प्राप्त भएको महसुस गरेको छ, यो सबै गुरुको शक्तिको प्रतिफल हो ।’ गुरुप्रति आफ्नो शिष्यले भक्तिभावका साथ लागे जस्तोसुकै कार्य गर्न सफल हुने उनको भनाई थियो । 

कार्यक्रममा डा. योगी विकाशानन्दले मनभित्रको लडाइँलाई जो कोहीले जित्न सक्ने बताए । साधना र सत्संगतबाट मात्र मान्छेभित्र राम्रो गुणहरुको विकास हुने बताउँदै उनले ‘मान्छेभित्र देवता र दानव दुवै लुकेको हुन्छ, जस्तो संगत भयो त्यही कुरा मानिसमाथि हावी हुन्छ ।’

bhu tapasya

कार्यक्रमम स्थलमा आयोजना गर्न लागिएको ‘फायर वक’ (आगोमाथि हिँड्ने कार्य) का लागि डा. योगीले मानिस छनोट समेत गरेका थिए । उनले आगोमाथि हिँड्न चाहनेहरुलाई हिप्नोसिस गरेर छनोट गरेका थिए । छनोट भएकाहरुले आगोमाथि हिँडेका थिए ।  डा. योगी विकाशानन्दका साथमा रेकी ग्राण्ड माष्टर कमलेश्वरी आनन्दको समेत सहभागिता थियो । सँगै अन्य अनुयायी र हेर्न आउनेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका व्यवस्थापक तथा फक्तालुङ एजुकेसन फाउन्डेसनका संस्थापक ओमविक्रम नेम्बाङले मानिसहरुलाई सत्मार्गमा डोहोर्याउनका कार्यक्रम गरिएको बताए । ‘मानिसका जीवनमा अनेक दुःख–कष्ट हुन्छ’,  उनले भने ‘तर, त्यसको मूल कारण थाहा हुँदैन, मनभित्र क्रान्ति ल्याएर जीवनलाई खुसी र समुन्नत बनाउन सकिन्छ, मनोक्रान्तिले त्यही गर्छ ।’

मनोक्रान्तिका विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्वाङ (योगी श्री णं) ले मनोक्रान्तिको अर्को रुप नै विकासनन्द फाउण्डेसन रहेको र यो फाउण्डेसन जीवन र जगतलाई बदल्ने अभियानमा रहेको बताए । 

डा.योगी विकाशानन्दले ‘संसारलाई बदल्नु छ, शुरु आफैंबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसम्म पुर्याउन नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरिरहेको बताएका छन् ।