बिर्तामोड ।

श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरको आयोजनामा संगीतमय श्री राम कथा बाचन हुने भएको छ । राम नवमीको अवसरमा बिर्तामोडमा पहिलो पटक चैत २७ देखि बैशाख ५ गतेसम्म राम कथाको आयोजना गरिने भएको छ । 

आयोजक संस्था श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरले  आइतवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिर्तामोडको अग्रसेनमा राम कथा तयारीका बारेमा जानकारी दिएको हो । सनातन हिन्दू र्धम ऊँकार परिवारलाई एकताको सुत्रमा बाध्ने उदेश्य अनुसार समितिले ९ दिने राम कथा आयोजना गर्न लागेको मुल आयोजक समितिका संयोजक बेदप्रकाश अग्रवालले बताए । 

२०७१ सालमा स्थापना भएको समितिले नेपालमा रहेका विविध जाती, भाषा, संस्कृति र धर्मका मानिसहरुको बसोबास भएकाले सनातन हिन्दू धर्म तथा संस्कृतिको संरक्षण गर्दै सवै जातजाती, भाषाभाषी, धर्मालम्बीहरुका बिच सद्भाव कायम राखेर सामाजिक, धार्मिक गतिबिधि सञ्चालन गर्दै आएको श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरका संस्थापक अध्यक्ष उमेश डालमियाले बताएका छन् । 

राम कथा सम्पन्न गर्न २५१ सदस्यीय मुल आयोजक समिति निर्माण भएको डालमियाले बताए । राम कथा सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च अनुमान गरिएको उनले बताए । स्वच्छिक सहयोग तथा बिभिन्न सामाजिक संघ संस्थाको सहयोगले राम कथा सम्पन्न गर्ने आयोजकले जनाएको छ । 

चैत २७ गते बिहान ८ बजे बिर्तामोडको दुर्गा मन्दिरबाट अग्रसेन बालाजी मन्दिरसम्म कलस तथा शोभा यात्रा साथै बिभिन्न झाँकीसहित कार्यक्रमको उद्घाटन गरिने भएको आयोजक संस्थाले जनाएको छ । श्रीरामको कथा अन्तरािष्ट्रय ख्याति प्राप्त कथा बाचक सुश्री संगिता किशोरीले बाचन गर्ने समितिका संरक्षक भगवानदास अग्रवालले जानकारी दिए । 

पत्रकार सम्मेलनमा समितिका सचिव बाबुलाल अग्रवाल, सह–सचिव विजेन्द्र अग्रवाललगायतको उपस्थिति रहेको थियो ।