झापा । 

झापाको दमक नगरपालिका–५ मा गएराती भएको आगलागीमा २ करोड ४८ लाख ३० हजार रुपैयाँ क्षति भएको छ । मंगलबार अन्दाजी १९ः२५ बजेको समयमा दमक–५ लाईफ लाईन अस्पताल छेउका प्रेम धिमालले घरमा सञ्चालन गरेको स्नेहा होटलको ईन्भटरको लाईन सर्ट भई अचानक आगलागी भएको थियो । 

उक्त आगलागीबाट सोही स्थानका चार वटा घरमा क्षति हुँदा जम्मा २ करोड ४८ लाख ३० हजार हजार रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट दमक–५ का प्रेम धिमालको काठ, टिनको बेरा र टिनकै छानो भएको १ तल्ले घर, घरमा रहेको सुन ३५ तोला, लत्ता कपडा, भाडा वर्तन, खाटपात, फर्निचर, फ्रिज २ वटा, ईन्भटर थान–१, नगद ।४ लाखसमेत गरी अन्दाजी ७९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

दमक–५ का रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको १ तल्ले घरको आंशिक रुपमा क्षेती हुँदा अन्दाजी मुल्य ५ लाख रुपैयाँ बराबरको क्षति भएको भएको छ ।

त्यसैगरी हल्दीबारी–५ घर भई हाल दमक–५ मा रुवी होटल सञ्चालन गरी बस्ने मेखबहादुर तामाङको टिनको छानो, टिन र तारको जालीको बेरा भएको १ तल्ले घर, भाडा बर्तन, लत्ता कपडा, फर्निचर, चामल, दाल, पेय पदार्थ, ल्यापटप थान–१, सुन १२ आना, होटलमा रहेको अन्य सरसमानहरु समेत गरी अन्दाजी ।१३ लाख ४० हजार रुपैयाँ बराबरको क्षति  भएको प्रहरीले जनाएको छ ।

त्यस्त्ै लाईफ लाईन अस्पताल प्रालिको पक्की वाल भएको र दोस्रो तल्लामा माथिबाट टिनको छानो भएको डाईलोसिस वार्डको झ्यालबाट आगो पसी डाईलोसिस मेसिन थान ६, एसी थान–३ वटा, सीसी क्यामेरा थान–१, मेडिकल उपकारण गरी जम्मा  एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । 

आगलागी दमक नगरपालिकाको २ वटा दमकल, कमल गाउँपालिकाको १ वटा, गौरादह नगरपालिकाको १ वटा, पथरी शनिश्चरे नगरपालिकाको १ वटा र उर्लाबारी नगरपालिकाको १ वटा गरी जम्मा ६ वटा दमकल, इलाका प्रहरी कार्यालय दमकका २० जना र सशस्त्र प्रहरी गण पाडाजुङीका २५ जनाको टोली तथा स्थानियको सहयोगमा  राती ८ः२५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएका प्रहरीले जनाएको छ ।