बिर्तामोड ।

मुस्लिम समुदायको महान पर्व ईद उल फित्र को अवसर पारेर बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयले दुई हजार पाँचसय जनालाई सेवई प्रदान गरेको छ ।

‘विविधतामा एकता नेपाली संस्कृतिको विशेषता’ भन्ने मूल नारासहित बिर्तामोडको मुक्ति चोक पूर्व खुल्ला स्थानमा  मुस्लिम समुदायले सबै पैदलयात्रीहरुलाई बोलाएर सेवई खुवाइएको थियो । सोही अवसरमा एक अर्काप्रति इदको शुभकामना आदान–प्रदान गर्दै खुशी साटासाट गरेका थिए । गत फागुन २९ गतेबाट शुरु भएको मुस्लिम समुदायको  रमाजान चैत २८ गते सम्पन्न भएको हो ।

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना समेत आदन–प्रदान गरिएको कार्यक्रममा सबै समुदायसँग धार्मिक तथा सामाजिक सद्भाव स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मदरसा तालिमुन कुरान आधारभूत विद्यालयका अध्यक्ष अफ्रोज खानले बताए ।

कार्यक्रम संयाोजक मुतुज अलीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपाालिका प्रमुख पवित्रादेवी महतरा प्रसाई,  नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाई, झापा अध्यक्ष उमेश खरेल, बिर्तामोड साना सहरी खानेपानीका अध्यक्ष मेघराज वाास्तोला, विर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलालगायतको उपस्थिति रहेको थियो ।

एक महिनासम्म कठोर तपश्या तथा प्रार्थना गरेर मुस्लिम समुदायले रमाजान मनााउने गरेका छन् । उनीहरुले ब्रत अवधिभर दिनमा १५ घण्टा कठोर तपस्या गरेर प्रार्थना गर्ने गरेको बताइएको छ ।

बिर्तामोडमा ५ हजार मुस्लिम समुदाय रहेको जसमध्ये ३ हजार ५ सयदेखि चार हजाारसम्म मतदाता रहेको अफ्रोजले बताए । उनका अनुसार बिर्तामोड नगरभित्र ४ वटा मस्जिद र एउटा इदगाह रहेका छन् ।